
वीरगन्ज, ३ असोज । संविधानको प्रस्तावित मस्यौदामा राय सुझव लिन शुरु गरेदेखि नै मधेसमा र पहाडमा आदिवासी जनजातिले गरेको आन्दोलनले देशमा आगो बलेको थियो । तरपनि मुख्य राजनीतिक दलहरुले आन्दोलन र असन्तुष्टिकाबीच नै संविधान जारी गर्यो ।
संविधान जारी भएकै दिन मधेसमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको थियो । त्यसैले मधेसमा असोज ३ गतेलाई कालो दिन भन्ने गरिएको छ । तर, संविधान जारीपछि विस्तारै कार्यान्वयनको चरणमा जान थालेपछि आन्दोलनरत दलहरु पनि सत्ता स्वार्थका कारणले सरकारमा सहभागि हुदै गए ।
सरकार र सत्तामा रहँदा पनि उनीहरुले मधेस प्रदेशमा भने कालो दिन मनाउन छोडेका थिएनन् । संविधान कार्यान्वयनकै क्रममा देशमा स्थानीय तहको निर्वाचन र प्रदेश तथा संघीय सांसदको निर्वाचन भयो । त्यसले संविधान दिवसका दिन जसपा, लोसपा लगायतका दलहरुले संविधान दिवस स्वस्फुर्त रुपमा मनाउदैनन् ।
तर, यसपटक संविधान दिवसको अवसरमा जनता समाजवादी पार्टी नेपाल पर्साले शहिदको शालिकमा माल्यार्पण गरेर संविधान दिवस मनाएको छ । संविधान जारी भएको दिन आन्दोलनमा रहेको जनता समाजवादी पार्टी नेपाल त्यसपछि संविधान कार्यान्वयनका लागि भन्दै आन्दोलन र सरकारमा सँगै समावेश हुदै आएको छ ।

संविधान दिवसका दिन कालो दिवस मनाउने गरेको जसपा लगायत मधेस केन्द्रीत दलहरुलाई सत्ता पाएसम्म संविधान दिवस र सत्ता नपाए कालो दिवस मनाउने भन्दै आलोचना हुदै आएको छ । जसपाले संविधान दिवसमा सहिदको सम्मान र सम्झनामा वीरगन्जको घण्टाघर स्थित शहिद पार्कमा रहेको शालिकमा माल्यार्पण गरेको छ ।
मधेस आन्दोलनका बेला साहदत्त प्राप्त गरेका वीर सहिदहरुको सम्झना स्वरुप शहिदको शालिकमा माल्यार्पण गरेको हो । जसपा नेपालका केन्द्रिय सदस्य फिरोज मन्सुरले आठबर्ष अघि आजकै दिन सहादत प्राप्त गरेका सम्पुर्ण मधेसी शहिदलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
संविधान जारी भएतापनी यो संविधानमा केही प्राबधानहरु मधेस, मधेसी र शोषण उत्पीडित वर्गको हितमा नरहेको भन्दै यसमा अझ सुधार एवम् संशोधन गर्नुपर्ने बताउनुभयो ।
पर्साको तिवावे पुलमा अवस्थित शालीकमा पनि सहिदहरुको शालिकमा माल्यार्पण गरि श्रद्धाञ्जली अर्पण गरेको छ । संविधान जारी भएकै दिन सहादत प्राप्त गरेका वीर शहिदका शालिकमा पार्टीका राजनीतिक समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मी, जिल्ला सह इन्चार्ज दिपक यादव, जिल्ला सदस्य बिरेन्द्र यादव, युवा नेता अमित यादव त्यस्तै जसपाका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न माल्यार्पण कार्यक्रममा केन्द्रिय नेता, प्रदेश स्तरीय नेता र जिल्ला तहका अगुवा नेता कार्यकर्ताहरुको सहभागीता रहेको जसपाका जिल्ला सचिव तवरेज अहमदले जानकारी दिनुभयो ।
जिल्ला सदस्य बिरेन्द्र यादव, युवा नेता अमित यादव लगायतले आजै बेलुका ४ बजे पोखरीयामा शहिदहरुलाइ श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको जसपा जिल्ला सचीव अहमदले जानकारी दिनुभयो ।

