
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताल विकास समितिको अध्यक्षमा नेपाली काङ्ग्रेसका युवा नेता धिरजकुमार गुप्ता नियुक्त भएका छन् ।

सङ्घ सरकार मातहत रहेको मधेस प्रदेशकै सबै भन्दा ठूलो नारायणी अस्पतालको विकास समितिको अध्यक्षमा गुप्ता नियुक्त भएका हुन् । गुप्ता वीरगञ्ज महानगरपालिका – २० का स्थायी बासी हुन् ।
यही कार्तिक १७ गतेको मन्त्रिस्तरीय निर्णयबाट नारायणी अस्पताल विकास समितिको अध्यक्षमा गुप्तालाई नियुक्त गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति अनुगमन तथा योजना महाशाखाले जनाएको छ । सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा काङ्ग्रेसबाट निर्वाचित मोहनबहादुर बस्नेत छन् ।
मन्त्री बस्नेतले गुप्तालाई तीन वर्षका लागि अध्यक्षमा नियुक्त गरेका हुन् । नारायणी अस्पताल विकास समिति (गठन) आदेश २०७६ को दफा ३ को उपदफा (२) (क) मा भएको व्यवस्था बमोजिम अध्यक्ष पदमा गुप्तालाई तीन वर्ष पदावधि रहने गरी नियुक्त गरिएको मन्त्रालयले कार्तिक १९ गते जारी गरेको पत्रमा उल्लेख छ ।
सोमबारदेखि अस्पताल विकास समितिको अध्यक्षको कार्यभार सम्हाल्दै गुप्ताले आफ्नो कार्यकालमा नारायणी अस्पताललाई मधेस प्रदेशकै सुविधा सम्पन्न नमुना अस्पताल बनाउने प्रतिक्रिया दिए । गुप्ताले भने, ‘बिरामी र सेवाग्राहीलाई गुणस्तरीय सहज र सुलभ उपचार उपलब्ध गराउने मेरो पहिलो प्राथमिकता रहनेछ । यसका साथै अस्पतालमा विद्यमान विकृति र विसङ्गतिलाई शून्यमा झार्ने प्रयत्नमा अहिलेदेखि नै लाग्नेछु ।’

