
वीरगञ्ज । क्यासिनोमा जबरजस्ती प्रवेश गर्दा सञ्चालकमाथि हातपात गरेको आरोपमा बाराका एक युवकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सिमरास्थित इच्छा होटलभित्र सञ्चालित स्माइल क्यासिनोका सञ्चालक राजन भुजेलमाथि हातपात गरेका जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का राजन उप्रेती भनिने राजेन्द्र उप्रेतीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

चैत १८ गते आइतबार बिहान इच्छा होटेल परिसरभित्र कफी खाँदै गरेको बेला राजनउप्रेतीसहित २०–२५ जनाको समूहले क्यासिनोका सञ्चालक भुजेलमाथि हातपात गरेका थिए ।
चैत १७ गते शनिबार स्माइईल क्यासिनोमा सिमराका राजन उप्रेतीले जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षा गार्डले उप्रेतीलाई भित्र प्रवेश गर्न दिएका थिएनन् । नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश निषेध गरिएको अवगत गराउँदै रोक्न खोज्दा उप्रेतीले उल्टै धम्की दिएको सुरक्षाकर्मीले बताए ।
क्यासिनोलाई जलाईदिन्छु, कुनै पनि हालतमा चल्न दिन्न भन्दै धम्की दिएर गएको भोलीपल्ट सञ्चालकमाथि हातपात गरेको सञ्चालक भुजेलको भनाई छ ।
हातपात गरेको तथा ज्यान मार्ने धम्की दिएको भनदै क्यासिनोको सञ्चालक राजन भुजेलले जिल्ला प्रहरी कार्यालय बारामा चैत १९ गते उजुरी दिएका थिए । उजुरीकै आधारमा प्रहरीले २० गते उप्रेतीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

