Aadarsh-Daily

तराईका विभिन्न जिल्लामा तातो हावा चल्दा जनजीवन अस्त व्यस्त

ad-4p

वीरगंज । तराईका विभिन्न जिल्लामा ‘लु’ (तातो हावा) चल्न थालेको छ । एक सातायता वर्षा नहुँदा र वनजंगलमा डढेलो बढेसँगै भैरहवा, सिमरा, जनकपुरलगायत क्षेत्रको तापक्रम ‘लु’को अवस्थामा पुगेको हो । आइतबार तराईका पाँच ठाउँको अधिकतम तापक्रम ३८ डिग्री नाघेको छ । भैरहवामा अधिकतम तापक्रम ४०.६ डिग्री सेल्सियस मापन हुँदा जनकपुरमा ४०.२ डिग्री पुगेको छ । धनगढीमा ३८.५, नेपालगन्जमा ३८.४ र सिमरामा ३९.२ डिग्री सेल्सियस मापन भएको छ । अघिल्लो दिन शनिबार भैरहवामा ४३.६, नेपालगन्जमा ४२.२ र धनगढीमा ४१.२ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको थियो ।

content ad p2

‘तराईमा केही दिनदेखि तापक्रम बढेको छ, बादल लाग्दा आइतबार केही घटे पनि सोमबारबाट फेरि बढ्ने देखिन्छ,’ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘तत्काल वर्षाको सम्भावना पनि देखिँदैन ।’

तर, मौसम विभागले तराईमा ‘लु’ चलेको आधिकारिक घोषणा भने गरेको छैन । जल तथा मौसम विज्ञान विभाग जलवायु महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंले मधेश प्रदेशको पश्चिम क्षेत्र (रौतहट, पर्सा र लुम्बनीको भैरहवा)मा ‘हिट–वे’को मापदण्ड नाघेको बताए । ‘तर, यो सानो क्षेत्रमा मात्र देखिएको छ, पूरै तराईमा हिट–वे छैन,’ उनले भने, ‘त्यही भएर हामीले लु भनिसकेका छैनौँ ।’ सामान्यतया लगातार तीन दिन वा त्योभन्दा धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा ‘लु’ चल्न थाल्छ ।

कुन क्षेत्रमा कति डिग्री तापक्रम पुग्दा ‘लु’ चलेको मानिने भनेर छुट्टै मापदण्ड तय भएको छ । विभागले बनाएको मापदण्ड हेर्दा पनि तराईमा हल्का र मध्यमस्तरको लु (तातो हावाको बहाव) देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, भैरहवाका वरिष्ठ मौसमविद् वरुण पौडेलले तराई क्षेत्रको धनगढीदेखि सिमरासम्म तापक्रम बढ्दै गएको बताए । ‘भैरहवामा गर्मी निकै बढेको छ, एक साता भयो पानी नपरेको, त्यही भएर पनि तापक्रम बढेको हो,’ उनले भने ।

content left

हरेक वर्ष लम्बिँदै लु

गत वर्ष वैशाख पहिलो सातादेखि असार दोस्रो सातासम्म तीनपटक (एकदेखि डेढ साता लामो अवधि)को लु चलेको थियो । जसकारण तराईका कयौँ जिल्लामा विद्यालय बन्द गरिएका थिए । वैशाख–जेठमा विराटनगर, वीरगन्ज, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढीमा तापक्रम ४०–४४ डिग्री सेल्सियस पुग्ने गरेको छ । विश्वव्यापी तापक्रम वृद्धिका कारण पनि नेपालमा पछिल्ला दशकमा लु बढिरहेको ठानिन्छ । तर, कुन स्तरमा लु बढिरहेको छ भनेर सरकारी अध्ययन छैन । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईं भने नेपालमा लु चलेको लेखाजोखा गत वर्षबाट मात्र गरिएकाले विश्वव्यापी तापक्रम वृद्धिसँग जोडेर हेर्न नमिल्ने बताउँछन् ।

‘यसअघि पनि लु के थियो भनेर हेरिएको छैन, त्यही भएर एक वर्षको तथ्यांकलाई नै आधार बनाउन मिल्दैन,’ उनले भने, ‘प्रि–मनसुनमा कम पानी पर्नु, वर्षा, बादल र हावाका मौसमी गतिविधि कम हुँदा तराईमा लु चल्ने गर्छ ।’ छिमेकी भारतमा भने लु अर्थात् तातो हावाको घटना प्रतिदशक ०.६ घटनाका दरले बढिरहेको पाइएको छ । तर, शीतलहर भने हरेक दशकमा ०.४ घटनाले कमी आइरहेको छ । हैदराबाद विश्वविद्यालयका अध्ययनकर्ताले गरेको अध्ययनअनुसार लु शुष्क र अर्धशुष्क जलवायु क्षेत्रमा अधिक पाइएको छ । पूर्वऔद्योगिक युगपश्चात् विश्वको औसत तापमान करिब एक डिग्रीले वृद्धि भइसकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको तापक्रम वृद्धिको दर वार्षिक अधिकतम ०.०५६ डिग्री र न्यूनतम ०.००२ डिग्री छ ।

३३.५ डिग्री सेल्सियस पुग्यो काठमाडौंको तापक्रम

देशभरको अधिकतम तापक्रम बढेको छ । काठमाडौं उपत्यकामा पनि दिउँसो चर्काे गर्मी हुन थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा शनिबार अधिकतम तापक्रम ३२.८ डिग्री सेल्सियस पुगेकामा आइतबार बढेर ३३.५ पुग्यो । न्यूनतम तापक्रम पनि १४.७ पुगेको छ ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंमा वर्षा गराउने प्रणाली निष्क्रिय बन्दा तापक्रम बढेको हो । त्यस्तै, आइतबारै दिपायलमा अधिकतम तापक्रम ३६.२, वीरेन्द्रनगरमा ३६, घोराहीमा ३५.४, पोखरामा ३२.६, ओखलढुंगामा २७.५, धनकुटामा २९.५, विराटनगरमा ३७.७ र धरानमा ३७.४ डिग्री सेल्सियस मापन भएको छ । यो समाचार नयाँपत्रिकाबाट साभार गरिएको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily