Aadarsh-Daily

मधेश प्रदेशको नेतृत्व जनमतका सीके राउतले जिते

ad-4p

काठमाडौं । मधेश विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदाएका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल मधेश प्रदेश सरकारबाट पहिलोपटक बाहिरिएको छ ।

content ad p2

मुलुक संघीय संरचनामा गएपछि मधेश प्रदेशको नेतृत्व अहिलेसम्म जसपा नेपालले मात्रै गर्दै आएको थियो । २०७४ सालको चुनावपछि यही पार्टीका लालबाबु राउत र २०७९ सालको चुनावपछि सरोजकुमार यादव मुख्यमन्त्री बनेका थिए ।

तर गत २३ वैशाखमा जसपा, नेपालको विभाजन र उपेन्द्र यादवले संघीय सरकारबाट समर्थन फिर्ता लिएपछि विकसित घटनाक्रमले सरोजकुमार अल्पमतमा परे ।

नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएकाले संवैधानिक व्यवस्था बमोजिम उनले बुधबार मुख्यमन्त्रीमा विश्वासको मत परीक्षण गरेका थिए । तर प्रदेशसभामा बहुमत जुटाउन नसकेपछि सरोजकुमार पदमुक्त भए ।
जनमत पार्टीले बिहीबार नै सतिश सिंहलाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ । जनमतलाई सरकारको नेतृत्व दिन एमाले, माओवादी र एकीकृत समाजवादी सहमत भइसकेकाले राजनीतिमा ठूलै उलटफेर नभए मधेशमा १६ वर्षसम्म नेतृत्वदायी भूमिकामा रहेको जसपा, नेपाललाई नयाँ राजनीतिक शक्ति जनमत पार्टीले विस्थापित गर्नेछ ।

जनमतका केन्द्रीय सचिव बीपी साह, मधेश सरकारको नेतृत्व परिवर्तनलाई जनताको चाहना सम्बोधन भएको रुपमा बुझ्नुपर्ने बताउँछन् ।

‘हामीले गएको चुनावमा पाएको मतको अर्थ मधेशका जनता विकास र समृद्धि चाहन्छन् भन्ने थियो । तर गणतीय कारणले हाम्रो सरकार बन्न सकेको थिएन’, उनी भन्छन् ।

सचिव साहको दाबी जस्तै जनमत पार्टीले मधेश सरकारको नेतृत्व लिने मुख्य आधार २०७९ मंसिरको मत नै हो । यो चुनावमा अप्रत्यासित मत पाउँदै जनमतले मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६ र समानुपातिक ७ गरी १३ सिट जितेको छ । १०७ सदस्यीय प्रदेशसभामा यो ठूलो संख्या होइन ।

तर जस्तो प्रदेशसभाको समीकरण बनेको छ, त्यसआधारमा जनमतले पाएको सिट अर्थपूर्ण थियो । किनकी कुनै पनि दलको बहुमत नरहेको प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको एमालेसँग २५ सिट (सभामुख सहित) मात्रै छ ।

कांग्रेससँग २२, जसपा नेपालसँग १९ (३ स्वतन्त्र सांसद प्रवेश गरेपछि) , लोसपासँग ९, माओवादीसँग ८, एकीकृत समाजवादीसँग ७ सिट, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीसँग १–१ सिट छ । त्यसैले जनमतको सिट संख्या महत्वपूर्ण छ ।

अर्कातिर प्रतिनिधिसभा चुनावमा मधेश केन्द्रित दलहरुमध्ये जनमतले लोकप्रिय मत (समानुपातिक तर्फ) सबैभन्दा धेरै मत पाएको छ । एमाले र कांग्रेसपछि तेस्रो स्थानमा रहेको जनमतले ३ लाख २९ हजार १७७ (१६.८६ प्रतिशत) पाउँदा जसपा, नेपालले २ लाख ९८ हजार ७७४ (१५.३ प्रतिशत) मात्र पाएको छ ।

जबकी आमचुनावमा जसपाले एमालेसँग मधेशमा गठबन्धन गरेको थियो भने त्यसविरुद्ध सत्तारुढ गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादी) को साझा उम्मेदवार थिए । तर जनमत पार्टी एक्लै लडेर राष्ट्रिय शक्ति बन्न सफल भयो भने मधेशमा जसपा नेपालभन्दा ३ सिटले मात्रै सानो दल बन्यो ।

यद्यपि २०७४ सालदेखि सत्ता सहयात्री फेर्दै मधेश सरकारको नेतृत्व लिएका उपेन्द्रले यो चुनावपछि पनि मुख्यमन्त्री लिन सफल भए । १० पुस २०७९ मा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा त्यही गठबन्धनबाट उपेन्द्रले मधेशको मुख्यमन्त्री लिए ।

त्यसबेला जसपा नेपाल र जनमतबीच मुख्यमन्त्रीमा आधाआधा कार्यकालको सहमति थियो । तर एमालेसँगको गठबन्धन बदलेर प्रचण्डले कांग्रेससँग जाने निर्णय लिएपछि त्यो सहमति भत्कियो ।

प्रचण्डसँगै बदलिएको गठबन्धन पछ्याउँदै जसपा नेपालले मधेशमा सरकार जोगायो । गएको २१ फागुनमा फेरि प्रचण्ड एमालेतिरै फर्कदा पनि उपेन्द्र गठबन्धनमै थिए । तर यसपटक समीकरण परिवर्तन भइरहँदाको खेलमा उपेन्द्रले आफ्नो पार्टीको एकता र मधेश सरकारको नेतृत्व जोगाउन सकेनन् ।

ठीक उल्टो जनमत पार्टी र अध्यक्ष सीके राउतलाई त्यही दिन फेरिएको समीकरणले सफलता दिलायो । संसदीय राजनीतिको छोटो अवधिमै मधेश सरकारकै नेतृत्व लिन सफल भए ।

उपेन्द्रसँगै संघर्ष

क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधी गरेका सीके राउतले विद्रोहकै कारण राष्ट्रिय राजनीतिमा परिचय बनाएका थिए । सन् २०११ देखि स्वतन्त्र मधेश अभियान चलाए बापत २४ पटकसम्म उनी गिरफ्तार भए ।

content left

‘स्वराज’ अभियानमार्फत् पृथकतावादी गतिविधि गरेको आरोपमा २०७५ फागुनसम्म सीके राउत गिरफ्तार पर्ने र छुट्ने क्रम चलिरहेको थियो । तर २४ फागुन २०७५ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहमति गरी उनी शान्तिपूर्ण र संसदीय राजनीतिमा फर्किए ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापासँग ११ बुँदे सहमतिमा हस्ताक्षर गरेर संविधान बमोजिम राजनीति गर्न तयार भएका राउतले तत्कालै सिरहाको लहानबाट पार्टी घोषणा गरेका थिए । ११ बुँदे सहमति र जनमत पार्टीको घोषणापछि सीके राउतको राजनीतिक गतिविधि मधेशमै केन्द्रित भयो । विशेषगरी राजमार्ग केन्द्रित किसान आन्दोलनका कारण जनमत पार्टीतर्फ धेरैको ध्यान तानियो ।

त्यसबेला उपेन्द्र यादव संघीय सरकारमै थिए भने मधेशमा जसपा नेपाल नेतृत्वकै सरकार थियो । जनमत पार्टीले किसानको समस्या र भ्रष्टाचारसँग जोडेर यिनै जसपा नेपालको आलोचना गर्न थाल्यो । कतिसम्म भने जसपा नेपालले ‘जंगली राज’ चलाइरहेको प्रचार जनमत पार्टीका कार्यकर्ता र स्वयं राउतले गरिरहे ।

जबकी जसपा नेपालले नागरिकता, समानुपातिक समावेशी, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, एक मधेश प्रदेशजस्ता मुद्दाको वकालतमै पार्टीको भविष्य सुरक्षित ठान्दै आएको थियो ।

मधेश प्रदेश नीति तथा योजना आयोगका पूर्वसदस्य डा. सोहनप्रसाद साह, सीके राउतको प्राज्ञिक व्यक्तित्व र जनमत पार्टीले उठाएको एजेण्डाबाटै मधेशमा लोकप्रिय मत पाउन सफल भएको बताउँछन् ।

‘आन्दोलन गर्न सक्ने पार्टीले सुशासन दिन नसक्ने निष्कर्ष मधेशमा आम बनिरहेको थियो । जसपा नेपालले भ्रष्टाचार गरेको कुरा फैलिरहेको थियो’, उनी भन्छन्, ‘यस्तै बेला सीके राउतले रोजगारी, व्यवस्था सुधार, सुशासनको कुरा लिएर चुनाव लड्नुभयो । सफल हुनुभयो ।’

४ मंसिर २०७९ मा भएको आम चुनावमा सीकेले उपेन्द्रलाई नै हराए । सप्तरी–२ मा एमाले समेतको समर्थनमा उम्मेदवार बनेका उपेन्द्रले १६ हजार ९७९ मत पाउँदा सिकेले ३५ हजार ४२ मत ल्याएर जिते । जबकी आमचुनावको ८ महिना अगाडि सम्पन्न स्थानीय चुनावको मत हेर्दा उपेन्द्र यादव अथवा तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेका लोसपाका नेता जयप्रकाश ठाकुरसँग धेरै मत देखिन्थ्यो ।
सीकेले उपेन्द्रलाई हराउँदा जनमत पार्टीले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउँदै राष्ट्रिय दल पनि बन्यो । राष्ट्रिय दलको मान्यता पाएकै कारण जनमत पार्टी ६ सिटको शक्ति बन्यो ।

यो चुनावपछि उपेन्द्र र सीके एकअर्काविरुद्ध देखिने गरी भिड्न थाले । आमचुनाव हारेपछि उपेन्द्र जसरी पनि संसदमा आएर मन्त्री हुने योजनामा लागे । उपेन्द्रलाई रोक्न सीके राउत हरेकपटक मैदानमै उत्रिए ।

थालनी उपराष्ट्रपतिको चुनावबाट भयो । ३ चैत २०७९ मा उपराष्ट्रपति पदको चुनाव हुँदा उपेन्द्र र सीके राउत दुवै सरकारमा थिए । सत्ता गठबन्धनका नेताहरुले उपराष्ट्रपतिमा जसपा नेपालका रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरे । बारा–२ बाट चुनाव जितेका रामसहायप्रसादलाई उपराष्ट्रपति बनाउने निर्णय उपेन्द्रलाई संसदमा ल्याउने योजना अन्तर्गत भएको थियो ।

यो तथ्य बुझेपछि सीके राउतले उपराष्ट्रपति पदमा ममता झालाई उम्मेदवार बनाए । जबकी त्यसबेला जनमत पार्टीका अब्दुल खान प्रचण्ड नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए । उपराष्ट्रपति पदमा आफ्नै उम्मेदवार उठाएको जनमत पार्टीले बारा–२ को उपचुनावमा उपेन्द्रविरुद्ध उम्मेदवारी दिने अडान लियो ।

उपेन्द्रविरुद्ध उम्मेदवारी दिने अडानकै कारण १७ चैतमा जनमत पार्टीले सरकार छाड्यो र खान मन्त्रीबाट हटे । उपचुनावमा पाँचदलीय सत्ता गठबन्धनबाट उपेन्द्र उम्मेदवार बन्दा जनमत पार्टीले कडा टक्कर दिएको थियो । १० वैशाख २०८० मा सम्पन्न उपचुनावमा उपेन्द्रले २८ हजार ४१५ मत ल्याएर जित्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत ल्याएका थिए ।

बारामा भोट माग्दै सीके राउत ।
तर उपचुनाव लगत्तै जनमत पार्टी सरकारमा सहभागी भयो । २७ साउन २०८० मा अनिता देवी संघीय मामिला तथा स्थानीय प्रशासनमन्त्री बनेकी थिइन् । गत २१ फागुनमा सत्ता समीकरण फेरिँदा समेत जनमत सरकारमै थियो । त्यसदिन एमाले नेतृत्वकै समीकरणमै फेरि फर्कने निर्णय प्रचण्डले लिएपछि भने जनमत विपक्षमा बस्यो ।

केन्द्रको सत्ता समीकरण हेरफेरको एक महिना अगाडि नै मधेश सरकारबाट जनमत बाहिरिसकेको थियो । उपेन्द्र यादवसँगको मतभेदकै कारण गत ९ माघमै जनमतले सरकार छोडेको थियो ।

सप्तरीको राजविराज नगरपालिका–१३ मा निर्माण गरिन लागेको मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यासको विषयलाई लिएर जनमतका मन्त्रीहरुले राजीनामा दिएका थिए । त्यसबेला मधेशको शिक्षामन्त्री जनमतका नेता महेशप्रसाद यादव थिए ।

तर मन्त्री यादवको असहमति हुँदा पनि उपेन्द्र यादवले उक्त भवनको शिल्यान्यास गरेपछि प्रहरी र जनमतका कार्यकर्ताबीच झडप भएको थियो । त्यही झडपको विषयलाई लिएर जमतले सरकार छोडेको थियो ।

सप्तरीको राजविराज नगरपालिका-१३ विषहरियामा सोमबार मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास तथा भूमिपूजन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायत । तस्बिरः नानीमैया कटवाल / रासस
२१ फागुनपछि उपेन्द्र यादव आफैं उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री बनेकाले संघको सरकारबाट जनमत बाहिरिनु स्वभाविक थियो । किनकि जनमतको संघर्ष उपेन्द्रसँग थियो ।

तर सत्ता स्वार्थमा आधारित संघर्ष चल्दै जाँदा जसपा नेपालबाट ७ सांसदसहित अशोक राईले गत २३ वैशाखमा पार्टी फुटाए । पार्टी फुटेपछि ५ सिटमा खुम्चिएको उपेन्द्रले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए । जसकारण ७ जेठमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा जनमत पार्टीले सत्तामा जाने फेरि अवसर पाए ।

यसरी चौथोपटक विश्वासको मत लिइरहँदा जनमतले मधेश सरकारको नेतृत्व दाबी गरेका थिए । दाबी बमोजिम मधेश सरकारको नेतृत्व गर्ने अवसर पाएपछि राउतले मधेश आन्दोलनकै परिभाषा फेरिएको आफू निकट नेताहरुलाई बताएका छन् ।

राउतको निष्कर्ष छ, ‘एउटा चरणको नेतृत्व गजेन्द्रनारायणहरुले गर्नुभयो । २०६४ सालपछि लामो अवधिसम्म उपेन्द्र यादवले सकेजति गर्नुभयो । तर अब हामी नयाँ घुम्तीमा पुगेका छौं, जहाँबाट रोजगार, विकास र समृद्धि एजेण्डा बनेर अगाडि बढिनेछ ।’

सम्बन्धित खबर

भारत लैजाँदै गरेको ११० किलो गाँजा सिरहामा बरामद

Aadarsh Daily

सन्तानको दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

Aadarsh Daily

ज्यान मुद्दामा जालिम मियाँका छोरा जाफिर पक्राउ

Aadarsh Daily