Aadarsh-Daily

नारायणी अस्पताल वीरगञ्जमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध हुने

ad-4p

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार थप पाँच प्रदेशमामा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका छन् ।

content ad p2

मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै गत असार ३१ गते आफ्नो पहिलो निर्णयमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए । रणनीतिले सातवटै प्रदेशमा क्यान्सरको परीक्षण तथा निदान गर्ने लक्ष्य लिएको थियो । त्यसको एक महिनाभित्रै बुधबार मन्त्री पौडेलले कार्यविधि स्वीकृत गरेका हुन् ।

कार्यविधि स्वीकृत भएपछि चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल तथा नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले देशका अन्य भागमा क्यान्सर उपचार सेवा उपलब्ध गराउने भएका छन् ।

कार्यविधिअनुसार भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशको विराटनगर अस्पताल र मधेस प्रदेशको नारायणी अस्पताल वीरगञ्जमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउनेछ ।

content left

यसैगरी, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनेछ ।

यससँगै देशका सातवटै प्रदेशमा क्यान्सर उपचारसम्बन्धी सेवाको पहुँच विस्तार भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

मन्त्री पौडेलले गत आइतबार सार्वजनिक गरेको प्राथमिकता तथा योजनामा सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गरिने उल्लेख गरेका थिए । त्यसलगत्तै बुधबार उनले मन्त्रीस्तरीय निर्णयमार्फत यससम्बन्धी कार्यविधि स्वीकृत गरेका हुन् ।

‘आम नागरिकले सहज तरिकाले क्यान्सर उपचार सेवा पाउने गरी यसको विस्तार गर्ने हाम्रो नीति हो, यसै अनुरुप बिस्तारको कार्यलाई प्राथमिकतामा राखेर काम गरेका हौँ,’ मन्त्री पौडेलले भने, ‘संघीय अस्पतालको सेवा विस्तारसँगै अब आम नागरिकको क्यान्सर उपचार सेवा पहुँच सहज हुने विश्वास लिएको छु ।’

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर कृष्ण पौडेलले अब बिरामीहरूले संघीय क्यान्सर अस्पतालको सेवा नै विस्तारित अस्पतालबाट पाउने भएकाले खर्च र समय दुवै बचत हुने बताए । अब सेवा विस्तार भएका अस्पतालको सेवा र गुणस्तरमा समेत थप सहायता पाउनेछन् । स्याटेलाइट क्लिनिक तथा आफ्ना दक्ष जनशक्तिसमेत पठाएर विस्तारित अस्पतालमार्फत सेवा दिइने भएकाले यो प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।

अहिले संघ मातहतका तीन अस्पतालले मात्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएका छन् । कार्यविधि स्वीकृत भएसँगै ती अस्पतालले देशका अन्य अस्पतालमा तत्काल सेवा उपलब्ध गराउन प्रक्रिया थाल्ने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily