
वीरगञ्ज । जनमत पार्टी पर्साले जिल्लामा मलखादको कालोबजारी र तस्करी नियन्त्रण गर्दै किसानलाई सहज रूपमा मलखाद उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ।
पार्टीका सदस्यहरूले मलखाद वितरणमा भैरहेको अनियमितता र पार्टीगत आधारमा हुने विभेदका कारण निमुखा किसानहरू प्रभावित भएको भन्दै तत्काल समाधानका लागि पहल गर्न प्रशासनलाई अनुरोध गरेका छन्।

ज्ञापन पत्रमा भनिएको छ, “पर्सा जिल्लामा मलखादको कालोबजारी गर्ने डिलरहरूलाई कानुनी कारबाही गरियोस् र किसानहरूलाई विभेद नगरी सुपथ मूल्यमा मलखाद उपलब्ध गराइयोस्। गहुँ तथा अन्य बालीको मौसम सुरु भएकाले मलखाद अभावले किसानहरूको उत्पादनमा गम्भीर असर पर्नेछ। समयमै मलखाद उपलब्ध नभए किसानहरूको जीविकोपार्जनमा समस्या उत्पन्न हुनेछ।”
ज्ञापन पत्र बुझाउने क्रममा पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा गएको टोलीमा राजनीतिक समिति सदस्य सिपु तिवारी, केन्द्रीय सदस्यहरू विद्यालाल प्रसाद, अनिता रौनियार, श्याम गुप्ता, र अन्य नेताहरूको उपस्थिति थियो।
उक्त टोलीमा नजमा खातुन, राजेश चौरसिया, इ. राहुल रौनियार, महानगर अध्यक्ष महादेव शर्मा, र नेताहरू बृजेश्वर चौधरी, अमरनाथ सिंह राठौर, छोटेलाल प्रसाद, अञ्जना गुप्ता, केदार पटेल, मनोज साह, संजय सिंह, उदय यादव, लोकेश कर्ण, संजय वर्मा, सिकिन्द्र राम, कौशल यादव, धिरेन्द्र पन्जियार, कृष्ण कुशवाहा, पवन गुप्ता लगायतका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
ज्ञापन पत्रमा जनमत पार्टी पर्साले समयमै समस्या समाधान नगरिए आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

