
ट्राफिक प्रहरीले सर्लाहीमा नियमित चेकजाँचका क्रममा करिब १५ लाख रुपैयाँ बराबरको सुन, चाँदी र नगदसहित भारतीय नम्बर प्लेटको स्कर्पियो गाडी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, बीआर ३० एके ७२२० नम्बरको स्कर्पियो गाडीमा लुकाएर राखिएको सुन–चाँदीका गरगहना र नगद फेला परेको हो । जेठ ७ गते बिहान साढे ९ बजे लालबन्दी नगरपालिका–१ अन्तर्गत पूर्व–पश्चिम लोकमार्गमा ट्राफिक प्रहरीको गस्ती टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त गाडीलाई रोकेर चेकजाँच गर्दा गाडीका चालकले मदिरा सेवन गरेको पाइएको थियो ।

साथै, गाडीमा भन्सारसम्बन्धी कुनै कागजात पनि प्रस्तुत गर्न नसकिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले वैकल्पिक चालक बोलाई जरिवाना तिरी जान जानकारी गराउँदा पनि गाडीमा सवार चार जना पुरुष गाडी छाडेर फरार भएका थिए ।
शंका लागेपछि इलाका प्रहरी कार्यालय, लालबन्दीबाट थप प्रहरी टोली खटाई जनप्रतिनिधिको रोहवरमा गाडीको खानतलासी गरिएको थियो । खोजतलासका क्रममा गाडीको अगाडिको इन्जिन भागमा प्लास्टिक र गम्छाले बेरेर राखिएको जेब्रा झोलाभित्र लुकाइएको सुन–चाँदीका गरगहना र अन्य सामान फेला परेको थियो ।
बरामद सामग्रीसहित स्कर्पियो गाडीलाई आवश्यक कारबाहीका लागि आइतबार साँझ सर्लाही भन्सार कार्यालय, मलंगवामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

