
धनुषा — नेपाल–भारत सीमामा सुरक्षाकर्मीको निगरानी छल्दै भारत छिर्न खोजेका दुई चिनियाँ नागरिकलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन्। बुधबार साँझ जटही–पिप्रौन नाकास्थित २८४/३५ नम्बर सीमास्तम्भ नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिइएको भारतीय प्रहरी स्रोतले जनाएको छ।
पक्राउ पर्नेमा चीनको ल्याओनिङ प्रान्तका ३८ वर्षीय वु हेलङ र आन्हुई हुंघान प्रान्तका ३० वर्षीय शेङ जुन यङ रहेका छन्। भारतीय प्रहरीका अनुसार, पर्यटक भिसामा नेपाल आएका उनीहरू अवैध रूपमा सीमा पार गर्दै भारत प्रवेश गर्ने प्रयासमा थिए।

अनुसन्धानका क्रममा हेलङले आफू ब्लगर भएको बताएका छन् भने यङको मोबाइल फोनबाट ५० भन्दा बढी भारतविरोधी सामग्रीसहितका भिडियो फेला परेको प्रहरीले दाबी गरेको छ। यस्ता सामग्रीहरू भारतको आन्तरिक सुरक्षामाथि प्रश्न उठाउने खालका रहेको बताइएको छ।
भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान थालेको छ। प्रहरीको प्रारम्भिक निष्कर्ष अनुसार, उनीहरूको गतिविधि शंकास्पद देखिएको छ र यो विषयलाई उच्च सुरक्षा चासोका साथ हेरिएको छ।
नेपालतर्फ भने हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन। जटही–पिप्रौन नाका चिनियाँ नागरिकहरूको सीमा पार गर्ने नयाँ र जोखिमपूर्ण बाटोको रूपमा चिनिन थालेपछि स्थानीय सुरक्षा निकाय पनि सतर्क बन्न थालेका छन्।

