
पर्सा जिल्लामा कोभिड संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य सतर्कता उच्च बनाइएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले सीमा नाकामा हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो।
बैठकले भारत तथा नेपालका विभिन्न स्थानमा कोभिड संक्रमितको सङ्ख्या फेरी बढ्न थालेको सन्दर्भमा विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ। प्रजिअ अर्यालले भारतीय भूमिबाट आउने यात्रुहरुको स्क्रिनिङलाई व्यवस्थित बनाउन सुरक्षाकर्मी र अन्य जनशक्ति परिचालन गर्ने निर्णय भएको जानकारी दिनुभयो।

त्यसैगरी, अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई उच्च तयारी अवस्थामा रहन अनुरोध गरिएको छ। जटिल प्रकृतिका शङ्कास्पद बिरामीहरुलाई अनावश्यक रूपमा अन्यत्र रेफर नगर्न आग्रह गरिएको छ।
कोभिड उपचारमा प्रयोग हुने मास्क, सेनिटाइजर, अक्सिजन लगायत जीवनरक्षक सामग्रीहरुको पर्याप्त स्टक सुनिश्चित गर्नेतर्फ पनि बैठकले विशेष ध्यान दिएको छ। साथै, प्रवेश विन्दुमा खटिएका कर्मचारीहरुको पारिश्रमिक रोकिएको गुनासो सम्बोधन गर्दै तलब सुविधा उपलब्ध गराउन सम्बन्धित निकायमा पहल गर्नेसमेत निर्णय गरिएको छ।
कोभिड परीक्षणका लागि आरडिटी किट, पीसीआर उपकरण तथा खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गर्ने निर्णय बैठकले गरेको छ। साथै, कोभिड सम्बन्धी जनचेतना अभिवृद्धिका लागि सबै स्थानीय तहलाई आवश्यक सूचना प्रवाह र सतर्कता उपायहरू अपनाउन अनुरोध गरिएको छ।

