
विश्व वातावरण दिवस २०८२ को अवसरमा वीरगञ्ज–२४, बहुअरीस्थित श्री शारदा मा.वि. प्राङ्गणमा प्रकृति सेवा प्रतिष्ठान, नेपाल र विद्यालयको सहकार्यमा सरसफाइ गर्दै ५ दिवसीय सचेतनामूलक कार्यक्रमको शुभारम्भ गरिएको छ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंह, वडा नं. २४ का अध्यक्ष विजय कुर्मी, वडा २६ का अध्यक्ष शम्भु मिश्र, प्रधानाध्यापक अनिल वर्णवाल, शिक्षक, व्यवस्थापन समितिका सदस्यहरू, पत्रकार लालबाबु सिंह, विद्यार्थी लगायतको सक्रिय सहभागिता रहेको थियो।
वडाध्यक्ष मिश्राले “वातावरण संरक्षण हाम्रो दैनिकीको हिस्सा बन्नुपर्छ” भन्दै शुभकामना व्यक्त गरे। अध्यक्ष कुर्मीले वृक्षारोपण र सार्वजनिक स्थल सरसफाइमा सबैको सहभागिता जरुरी रहेको बताए।
प्रधानाध्यापक वर्णवालले प्रत्येक व्यक्तिले कम्तीमा ७ रुख रोपेर संरक्षण गर्नुपर्नेमा जोड दिए। अध्यक्ष सिंहले “हरियो, सफा र स्वस्थ वीरगञ्ज” को लक्ष्यसहित ५ दिनसम्म वृक्षारोपण, साइक्ल रैली, कविगोष्ठी, जनचेतना कार्यक्रमहरू सञ्चालन हुने जानकारी गराए।

