
पर्साको वीरगञ्ज महानगरपालिका–१५, भिष्वाबाट मानव बेचबिखन तथा ओसार–पसारमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१२ निवासी २९ वर्षीय पवन कुमार साह रहेका छन्।
प्रहरीका अनुसार भारतबाट आएका दुई जना युवतीलाई खान खुवाउने र पैसा दिने प्रलोभन देखाई वीरगञ्जका विभिन्न होटल तथा लजहरूमा वेश्यावृत्तिमा लगाई त्यसबाट आएको रकम आफैं राख्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो।

सोमबार दिउँसो साढे १२ बजे तिर घटनास्थलमा पुगेर पीडित दिदीबहिनीलाई सकुशल उद्दार गरिएको र वेश्यावृत्तिमा बाध्य तुल्याउने साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीविरुद्ध मानव बेचबिखन तथा ओसार–पसार सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ र यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको छ ।

