
वीरगञ्ज महानगरमा पर्याप्त सार्वजनिक शौचालय नहुँदा सडक व्यापारी र बटुवाहरू ठूलो समस्यामा परिरहेका छन्। करिब आधा दर्जन स्थानमा मात्र शौचालय उपलब्ध छन् भने ती पनि शुल्क महँगो भएका कारण सर्वसाधारण प्रयोग गर्न हिचकिचाउँछन्।
घण्टाघरस्थित शौचालयमा पिसाब फेर्न रु १०, दिसा गर्न रु १५ र नुहाउन रु ४० लाग्छ। पैसा नभएको भन्दै धेरैजसोले खुला स्थानमै शौच गरिरहेका छन्। बीपी उद्यान, नेपाल टेलिकम कार्यालयको पर्खाललगायत ठाउँमा खुला शौच गर्नेको संख्या बढ्दो छ।

प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहले सार्वजनिक तथा घुम्ती शौचालयको माग गर्दै पटक–पटक ध्यानाकर्षण गराए पनि महानगरले वास्ता नगरेको गुनासो गर्नुभयो। उहाँका अनुसार वि.सं. २०७९ जेठ १५ गते २३ बुँदे सुझावसहित शौचालय व्यवस्थापनको माग गरिएको थियो।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगञ्जलाई ‘खुला दिशामुक्त महानगर’ घोषणाको कार्यान्वयन कमजोर भएको बताए।
महानगरका सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँले भने घण्टाघर, पुरानो तथा नयाँ बसपार्क, लक्ष्मणवा चोकलगायत आधा दर्जनभन्दा बढी स्थानमा शौचालय रहेको जानकारी दिनुभयो। तर यथार्थमा जनसंख्याको अनुपातमा शौचालयको संख्या न्यून देखिन्छ।
स्थानीयहरूका अनुसार खुला शौच रोक्न सचेतनामूलक अभियान र सुलभ शुल्कमा शौचालय सुविधा तत्काल आवश्यक छ।

