
प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोध ५९ औं दिनमा पुगेको छ। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै दुवै दलका सांसदहरूले आज पनि आफ्ना धारणा राखेपछि बैठक बहिष्कार गरेका छन्।
दिउँसो १ बजेका लागि तय बैठक सुरु भएलगत्तै सांसदहरूले विरोध जनाएपछि सभामुखले बोल्ने समय दिएका थिए।
रास्वपाकी सांसद डा. तोसिमा कार्कीले सरकारले दमनकारी शैली अपनाएको र संसद जनताको होइन, सरकारको कठपुतलीजस्तो बनेको आरोप लगाइन्। उनले भिजिट भिसाको नाममा भइरहेको अपारदर्शी लेनदेनबारे न्यायिक छानबिन आवश्यक रहेको बताइन्।

यस्तै, राप्रपाका सांसद दीपक सिंहले संसद्मै छानबिन समिति गठन नभएसम्म संसदका कार्यसूचीमा भाग नलिने अडान दोहोर्याए।
रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारले नेपाली युवाहरू भिजिट भिसाको नाममा बेचिएको आरोप लगाउँदै सरकार मौन रहेको गुनासो गरिन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशभर भ्रष्टाचार मौलाएको भन्दै अब संसद मात्र होइन, सडकबाट पनि दबाब दिने चेतावनी दिएका छन्।
भिजिट भिसा प्रकरणबारे छानबिन गर्न गठन हुने समितिको माग पुरा नभएसम्म दुवै दलले संसद अवरोध जारी राख्ने स्पष्ट पारेका छन्।

