
रौतहटमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक साताभित्र तीन जना किसानको ज्यान गएको छ। खडेरीका कारण सिँचाइका लागि विद्युतीय मोटर प्रयोग गर्दा करेन्ट लागेर यी किसानको मृत्यु भएको हो।
बुधवार बिहान मात्रै दुई किसानको ज्यान गएको छ। माधवनारायण नगरपालिका–४ बिसनपुर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखिया खेतमा सिँचाइ गर्न मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा त्यहीं निधन भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्कीले जानकारी दिए।

त्यसैदिन कटहरिया नगरपालिका–२ जमुनिया टोलका ५२ वर्षीय मोक्तार देवानको पनि करेन्ट लागेर मृत्यु भएको हो। खेतमा पानी तान्ने क्रममा करेन्ट लागेका देवानको उपचारको क्रममा गरुडास्थित ग्राण्डी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।
यसअघि असार ३१ गते मौलापुर नगरपालिका–८ सोनरनियाका १४ वर्षीय नरेन्द्र पटेल (गोलु) को पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर ज्यान गएको थियो।
लगातारको खडेरीका कारण तराई क्षेत्रमा रोपाइँ प्रभावित भएको छ। प्राकृतिक वर्षा नहुँदा किसानहरू बाध्य भएर विद्युतीय मोटरको सहारामा खेतमा पानी हाल्ने प्रयास गरिरहेका छन्। तर विद्युत् सुरक्षाको पर्याप्त व्यवस्था नहुँदा ज्यानकै जोखिममा परेका छन्।
विद्युत सिँचाइ गर्दा आवश्यक सावधानी नअपनाउँदा ज्यान जाने घटनाहरू दोहोरिन थालेको भन्दै स्थानीय तह र सम्बन्धित निकायले सचेतना र सुरक्षा उपायमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

