
जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साले जिल्लाका कृषकहरूलाई आवश्यक पर्ने बोरिङ्ग तथा मल–खाद वितरणमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले कृषि ज्ञान केन्द्र र कृषि सामग्री कम्पनी लिमिटेड पर्सालाई संयुक्त पहलमार्फत सहजीकरण गर्न आग्रह गरेको छ।

जसपा पर्साका अध्यक्ष रामनरेश यादवले कृषकहरूको गुनासो र समस्यालाई ध्यानमा राख्दै सम्बन्धित निकायलाई बोरिङ्ग र मल खाद वितरणमा कुनै पनि चलखेल नगरी पारदर्शी र सहज सेवा सुनिश्चित गर्न अनुरोध गरिएको जानकारी दिनुभयो।
अध्यक्ष यादवका अनुसार पर्सा जिल्लामा पानीको अभाव, बोरिङ्गको पहुँच र मलको अभावका कारण कृषकहरू समस्यामा परिरहेका छन्। यस्तो अवस्थामा राज्य संयन्त्रमार्फत उपलब्ध हुने सेवा सहजरूपमा कृषकको पहुँचसम्म पुगोस् भन्ने उद्देश्यले पार्टीले पहल अघि बढाएको हो।
यसअघि किसानहरूले समयमा मल र सिंचाइका उपकरण नपाएर कृषि कार्यमा कठिनाइ खेप्नुपरेको गुनासो गर्दै आएका थिए। जसपाले अब कृषकका यस्ता समस्यालाई सम्बोधन गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको जनाएको छ।

