
पर्साको पोखरिया नगरपालिकाबाट हटाइएका ज्यालादारी र करार कर्मचारीहरू आन्दोलित भएका छन्। साउन १ गतेदेखि जागिरबाट निकालिएका ती कर्मचारीहरूले आफूहरूले काम गरेबापतको एक वर्षको तलब सुविधा र नियुक्ति लिँदाको समयमा दिएको रकम फिर्ताको माग गर्दै आन्दोलन थालेका हुन्।

बिहीबार राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रिय राजनीतिक समिति सदस्य निजामुदिन समानीको नेतृत्वमा उनीहरूले पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहानलाई चार बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा नियुक्तिपत्र दिँदा गैरकानुनी रूपमा लिइएको रकम फिर्ता गर्नुपर्ने, जागिर अवधिको तलबभत्ता उपलब्ध गराउनुपर्ने, आगामी दिनमा पुनः रोजगार दिनुपर्ने लगायतका माग राखिएको छ।
उनीहरूले एक महिनाभित्र माग पूरा नभए नगरपालिका विरुद्ध भण्डाफोर अभियानसहित सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

