
पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–५, बिरञ्चीबर्वामा एक ६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा फरार रहेका एक १४ वर्षीय किशोरलाई प्रहरीले चार महिनापछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ परेका किशोरमाथि गत चैत १३ गते बालिकालाई ललाईफकाई गाउँ नजिकैको सुनसान स्थानमा लगेर यौन दुर्व्यवहार गरेको आरोप छ। घटनापछि गाउँमा भएको चहलपहल र अनुसन्धानबाट बच्न भन्दै उनलाई परिवारले भारत पठाएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

पीडित बालिकाका अभिभावकले चैत १४ गते इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी दिएपछि प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो। परीक्षणले यौन दुर्व्यवहार भएको पुष्टि गरेपछि जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरिएको थियो।
प्रहरीका अनुसार फरार किशोरलाई बिहीबार गाउँबाटै पक्राउ गरिएको हो। प्रारम्भिक विवरणमा उनको उमेर १८ वर्ष भनिए पनि अनुसन्धानमा १४ वर्ष मात्र भएको पुष्टि भएको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखी अनुसन्धान जारी राखिएको छ।
पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।

