
वीरगंज महानगरपालिका–१५ भिस्वास्थित नवदीप एकेडमीमा “सानो पाइला” संस्था र लायंस क्लब अफ वीरगंज सेन्ट्रल सिटीको संयुक्त आयोजन तथा नवदीप एकेडमीको सहयोगमा “सुरक्षित स्पर्श” र “असुरक्षित स्पर्श” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
लायंस क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष तथा नवदीप एकेडमीकी सञ्चालिका सुशिला साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कक्षा ३, ४ र ५ मा अध्ययनरत १२७ जना विद्यार्थी सहभागी भए।

प्रशिक्षणमा विद्यार्थीलाई सुरक्षित (Good) स्पर्श र असुरक्षित (Bad) स्पर्शको स्पष्ट भिन्नता, आत्म–सुरक्षाका उपाय, अपरिचित व्यक्तिबाट हुनसक्ने सम्भावित खतरा र आवश्यक प्रतिकारका उपायबारे जानकारी दिइयो। प्रशिक्षकहरूले सजिलो भाषामा उदाहरणसहित असुरक्षित स्पर्शबाट बच्ने तरिका, आत्मविश्वासका साथ ‘ना’ भन्न सक्ने क्षमता, र कुनै समस्या परेमा भरपर्दो व्यक्तिलाई तुरुन्त जानकारी दिने बानीको महत्वमा जोड दिए।
मुख्य प्रशिक्षकका रूपमा “सानो पाइला” संस्थाकी सुस्मिता चालिसे र काजल झा रहे। कार्यक्रममा रेखा कुर्मी, कार्यक्रम संयोजक राजकुमार तामाङलगायतको पनि उपस्थिति थियो।
मुख्य अतिथि तथा लायंस क्लबका आजीवन सदस्य लायन राधेश्याम खेतानले बालबालिकालाई यस्तो विषयमा प्रारम्भिक उमेरदेखि नै सचेत बनाउँदा उनीहरू भविष्यमा असुरक्षित परिस्थितिबाट आफैंलाई जोगाउन सक्षम हुने बताए। उनले विद्यालयस्तरमा निरन्तर यस्ता कार्यक्रम सञ्चालनको आवश्यकता औंल्याए।
कार्यक्रममा नवदीप एकेडमीका शिक्षक–शिक्षिका नेहा अग्रवाल, सरिता सिंह, देवन्ती साह, कमला भण्डारी, आनन्द तिवारी, उत्तम कुशवाहा र पत्रकार अभिलाष गुप्तालगायतको उपस्थिति थियो। सहभागी विद्यार्थी, शिक्षक र अभिभावकले विद्यालयस्तरमै यस्ता सचेतना कार्यक्रम निरन्तर गर्न माग गरेका छन्।

