
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित वन कार्यालय अगाडिबाट एक जना बेवारिसे पुरुषको उद्धार गरिएको छ।
शुक्रबार राति मानवसेवा आश्रम वीरगञ्ज शाखाले मनोसामाजिक अपाङ्गता भएका अन्दाजी ४० वर्षीय ती पुरुषलाई उद्धार गरेको हो। उद्धारपछि उनलाई आश्रममा ल्याइएको आश्रमका संयोजक देवेश गुप्ताले जानकारी दिए।

गुप्ताका अनुसार उद्धार गरिएका पुरुषले आफ्नो नाम र ठेगाना स्पष्ट भन्न सकेका छैनन्। हाल उनलाई सरसफाइ गरी मनोरोग विशेषज्ञ डा. भरत गोइतको निगरानीमा औषधि उपचार सुरु गरिएको छ।
उद्धार कार्यमा आश्रमका प्रतिनिधि, सामाजिक अभियन्ता प्रकाश थारु, प्रहरी जवान नागेश्वर यादव, प्रहरी सहायक हवलदार अरविन्द कुमार दास लगायत स्थानीय व्यक्तिहरूको सक्रियता थियो।
मानवसेवा आश्रम वीरगञ्जमा हाल ५४ जना (जसमध्ये ४५ महिला) बेवारिसे तथा असहाय व्यक्तिहरू आश्रित छन्। आश्रमले सडकमा भेटिएका व्यक्तिहरूको उद्धार, उपचार, हेरचाह र सम्भव भएसम्म परिवारसँग पुनर्मिलन गराउने कार्य गर्दै आएको छ।
संस्थाले बेवारिसे तथा असहाय व्यक्तिहरूको संरक्षण र पुनर्स्थापनामा देखाएको सक्रियता सामाजिक सेवाप्रतिको महत्वपूर्ण योगदानका रूपमा रहेको छ।

