
अफगानिस्तानको हेरात प्रान्तमा गएराति भएको बस दुर्घटनामा कम्तीमा ७३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये १७ जना बालबालिका रहेको बीबीसीले जनाएको छ ।

इरानबाट निर्वासित अफगान आप्रवासी बोकेको बस ट्रक र मोटरसाइकलसँग ठोक्किँदा ठूलो आगलागी भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बसमा सवार सबै यात्रु, ट्रक तथा मोटरसाइकल चालकको पनि मृत्यु भएको छ । बस इस्लाम काला नाकाबाट काबुलतर्फ जाँदै गरेको बताइएको छ ।
हेरात प्रहरीले चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । पछिल्ला महिनामा इरानले अवैध अफगान आप्रवासीलाई फिर्ता पठाइरहेको र उनीहरू जोखिमपूर्ण यात्रामा बाध्य भइरहेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकायले जनाएको छ ।
सन् २०२५ को शुरुदेखि हालसम्म १५ लाखभन्दा बढी अफगान आप्रवासी इरान छोड्न बाध्य भएको तथ्यांक सार्वजनिक भएको छ ।

