
दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध तीन खेलको एकदिवसीय शृङ्खलामा विजयी सुरुवात गरेको छ ।
गएको राति केर्न्समा भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९८ रनले हरायो । २ सय ९७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४० ओभर पाँच बलमा १ सय ९८ रनमै अलआउट भयो । अस्ट्रेलियाका कप्तान मिचेल मार्शले सर्वाधिक ८८ रन बनाए भने बेन द्वारशुइसले ३३ रन जोडे ।

दक्षिण अफ्रिकाका केशव महाराजले पाँच विकेट लिए । नान्द्रे बर्गर र लुङ्गी न्गिडीले समान दुई-दुई तथा प्रेनेलन सुब्रायेनले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले आठ विकेट गुमाउँदै २ सय ९६ रन बनाएको थियो । एडेन मार्करामले ८२, कप्तान टेम्बा बाभुमाले ६५ र म्याथ्यू ब्रेट्जकेले ५७ रनको योगदान दिए ।
अस्ट्रेलियाका ट्राभिस हेडले चार विकेट लिए भने बेन द्वारशुइसले दुई र एडम जाम्पाले एक विकेट हात पारे । शृङ्खलाको दोस्रो खेल शुक्रबार हुनेछ ।

