
लालपुर्जा माग गर्दै आन्दोलन घोषणा गरेका राजविराज नगरवासी पीडित सङ्घर्ष समिति र राजविराज नगरपालिका कार्यालय शुक्रबार दुई बुँदे लिखित सहमतिमा पुगेका छन्।
सहमति अनुसार भदौ ७ गतेदेखि घोषणा गरिएको आन्दोलनका सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएको छ। सहमति पत्रमा उल्लेख छ कि विगतमा बिटौरी तथा ब्लकका जग्गा मालपोत कार्यालयमा लेखत पारित हुने, अदालतबाट हक हस्तान्तरण हुने तथा आर्थिक समस्यामा परेका बेला बैंक वा वित्तीय संस्थामा जग्गा धितो राखेर ऋण कर्जा पाउने सुविधा रोकिएकाले लालपुर्जा सुनिश्चित गर्न नगरकार्यपालिकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस पत्र पठाउने निर्णय गरेको छ।

राजविराज नगरपालिका स्थापना कालदेखि बसोवास, व्यापार र भोगचलन गर्दै आएका करिब पाँच हजार दुई सय परिवार अझै लालपुर्जा पाउन सकेका छैनन्। नगरपालिकाले समस्या समाधानका लागि सङ्घर्ष समिति, राजनीतिक दल र सरोकारवाला निकायका प्रतिनिधिसहित संयुक्त टोली गठन गरी जग्गाधनी प्रमाण पत्र उपलब्ध गराउने पहल गर्ने सहमतिमा हस्ताक्षर भएको छ।
कार्यवाहक नगर प्रमुख इसरत परवीनले सहमतिको पूर्ण पालना र कार्यान्वयनका लागि पहल सुरु गर्ने बताए। उनले भने, “नगरसभा हुनु अगावै लालपुर्जाविहीन करिब पाँच हजार परिवारले लालपुर्जा पाउन सकून् भन्ने मेरो चाहना हो।”
सङ्घर्ष समितिका संयोजक इरसाद अन्सारीले भने, “नगरपालिकासँग भएको सहमति कार्यान्वयन हुने विश्वास छ, विगतजस्तै धोखा भए आन्दोलन पुनः चर्काइनेछ।”

