
वीरगञ्जमा हैजा नियन्त्रणबाहिर रहेको भन्दै गुनासो गरेकी किरण साहलाई पक्राउ गरी थुनामा राखिएको घटनापछि खानेपानी मन्त्री प्रदीप यादवका पक्षधर कार्यकर्ताले उनको विरुद्धमा प्रदर्शन गरेका छन्।
मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि भेला भएका जसपा (अशोक राई समूह) का नेता–कार्यकर्ताले साहविरुद्ध कानुनी कारबाहीको माग गर्दै नाराबाजी गरे। नेपाल खानेपानी संस्थान सञ्चालक समितिका सदस्य तथा जसपाका केन्द्रीय सदस्य सल्मा खातुनलगायत नेताहरूले “पानीको अभाव भएको बेला खटिएका नेतालाई धम्की दिएको” आरोप लगाउँदै साहमाथि थप कारबाही गर्नुपर्ने माग राखेका थिए।

यसअघि सोमबार साँझ भने महिलाहरूले जिल्ला प्रहरी कार्यालय अगाडि भेला भई साहको तत्काल रिहाइको माग गरेका थिए। उनीहरूले “हैजा र झाडापखालाबारे प्रश्न सोधेकै कारण उनलाई थुनिएको” दाबी गर्दै विरोध गरेका थिए।
कलैया उपमहानगरपालिका–२६, सिस्वा महेशपुरकी २४ वर्षीया साहले गत हप्ता मन्त्री यादवलाई फोनमार्फत “वीरगञ्जमा पिउने पानी कसरी बाँड्नुभयो ? रोकथाम र नियन्त्रणका लागि के गर्नुभयो ?” भनेर प्रश्न गरेकी थिइन्। सोही आधारमा मन्त्री यादवले उनीविरुद्ध तीनवटा मुद्दा दर्ता गराएका छन्।
गत शुक्रबार सामाजिक सञ्जालमा सार्वजनिक अडियोमा पनि साहले कठोर शैलीमा प्रश्न गर्दै, मन्त्रीसँग पटक–पटक सम्पर्क नपाएपछि आक्रोश व्यक्त गरेको सुनिन्छ।

