

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीपछि वीरगञ्जमा लगाइएको निषेधाज्ञा आज सोमबारदेखि हटाइएको छ ।
गत भदौ २३ र २४ गतेको आन्दोलनमा अराजक समूहले सरकारी कार्यालय, सार्वजनिक सम्पत्ति र सवारीसाधनमा व्यापक तोडफोड तथा आगजनी गरेपछि पर्सा प्रशासनले वीरगञ्जका केही क्षेत्रलाई दङ्गाग्रस्त घोषणा गर्दै कडा निषेधाज्ञा जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्साले आज विज्ञप्ति जारी गर्दै स्थिति सामान्य बन्दै गएको र आगामी चाडपर्वलाई सहज बनाउनका लागि निषेधाज्ञा हटाइएको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “हाल परिस्थिति सामान्य बनेकाले शान्ति–सुरक्षा र जनजीवन सहज बनाउन भदौ ३० गते बिहान ४ बजेदेखि निषेधाज्ञा हटाइएको छ ।”
आन्दोलनका क्रममा टेलिकम, आन्तरिक राजस्व कार्यालय, वीरगञ्ज महानगरपालिका लगायतका सरकारी निकायमा ठूलो भौतिक क्षति पुगेको थियो । यस्तै, कैयौँ सवारीसाधनमा आगजनी भएको र कैदीबन्दीसमेत फरार भएको घटनाले परिस्थितिलाई तनावपूर्ण बनाएको थियो ।
प्रशासनले शान्ति–सुरक्षामा खलल पुर्याउने गतिविधि नगर्न चेतावनी दिँदै यस्ता कार्यमा संलग्न जो कोहीमाथि कानूनी कारबाही हुने जनाएको छ ।
यसैबीच, जिल्ला प्रशासनले सूचनामार्फत आइतबार देखिनै कार्यालयहरूको सम्पूर्ण सेवा नियमित रूपमा सुचारु भईसकेको जानकारीसमेत दिएको छ ।


