
बारा जिल्लाको परवानीपुर गाउँपालिकास्थित हेटौँडा ग्रिडअन्तर्गतको १३२ केभी सबस्टेसनमा बुधबार दिउँसो भएको आगलागीले करोडौँको क्षति पुर्याएको छ।
दुई पोल भाँचिएर एक–अर्कासँग सम्पर्कमा आएपछि आगलागी भएको र ११ केभीको एउटा फिडरमा मात्रै करिब १० करोड रुपैयाँ बराबरको क्षति पुगेको सबस्टेसनका इन्चार्ज सहायक इन्जिनियर अमित चौधरीले जानकारी दिनुभयो। उनका अनुसार सबस्टेसनका ९ वटा फिडरमा असर पुगेको छ।

आगलागीपछि उद्योगलाई दिइएको लाइन काटेर सर्वसाधारणको घरमा आपूर्ति गर्ने व्यवस्था गरिएको थियो। बिहीबार दिउँसो केही आपूर्ति सुचारु भए पनि १३२ केभीए ब्रेकरको ‘बुस’ फुट्दा पुनः अवरोध भएको हो। हाल प्रसौनी सबस्टेसनमार्फत अस्थायी रूपमा विद्युत आपूर्ति मिलाइएको छ।
सर्ट सर्किटका कारण आगलागी हुँदा सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगञ्ज, नितनपुर, चोर्नी र भलुही फिडरसहितका क्षेत्रमा पूर्ण रूपमा विद्युत आपूर्ति बन्द भएको थियो।
आगलागीलाई वरुण यन्त्र, स्थानीय प्रहरी र सर्वसाधारणको सहयोगमा नियन्त्रणमा लिइएको थियो। लगातारको विद्युत अवरोधले औद्योगिक उत्पादनदेखि व्यापारिक गतिविधि र सर्वसाधारणको दैनिकीमा गम्भीर असर पारेको छ।
नेपाल विद्युत प्राधिकरणले मर्मतलाई तीव्र पारिएको र सकेसम्म चाँडो सेवा पूर्ण रूपमा पुनः सुचारु गर्ने जनाएको छ।

