
जेन–जी आन्दोलनका क्रममा लुटिएका नेपाल प्रहरीका ८ सयभन्दा बढी हतियार अझैसम्म फेला पर्न सकेका छैनन्।
गत भदौ २३ र २४ गते देशभर भएको आन्दोलनमा प्रहरीका साना–ठूला गरी ११ सयभन्दा बढी हतियार लुटिएका थिए। तीमध्ये करिब ३०० भन्दा बढी हतियार फिर्ता वा बरामद भए भने, अझै ८ सयभन्दा बढी हतियार हराइरहेका छन्, प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, हतियार खोज्न समितिहरू गठन गरिएका छन् र विभिन्न निकायसँग सहकार्य गरेर पत्ता लगाउने कार्यलाई प्राथमिकता दिइएको छ। उनी भन्छन्, “हामीले हतियार पत्ता लगाउनका लागि खोजीलाई तीव्रता दिएका छौं।”
हालसम्म केही हतियार नेपाली सेनाले बरामद गरेको छ र केही व्यक्तिसमेत पक्राउ परेका छन्। तर ठूलो संख्यामा हतियार हराइरहेको र तिनीहरूको दुरुपयोग हुनसक्ने चिन्ता व्यक्त गरिएको छ।
अहिलेसम्म सार्वजनिक अपिल मार्फत सर्वसाधारणलाई पनि लुटिएका हतियार फिर्ता गर्न आग्रह गरिएको छ।

