
मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश अध्यक्ष जितेन्द्र सोनलको नेतृत्वमा नयाँ सरकार गठन गर्न पाँच दलीय गठबन्धनले दाबी पेस गरेको छ। गठबन्धनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सरकार गठनको दाबी बुझाएको हो।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोसपाबीच मंगलबार राति र बुधबार बिहानसम्म चलेको बैठकपछि सोनललाई मुख्यमन्त्री बनाउने सहमति बनेको हो।

गठबन्धनभित्र मन्त्रालय बाँडफाँटमा पनि प्राथमिक सहमति भएको बुझिएको छ। जसपा नेपालले ४ मन्त्रालय, जनमत पार्टीले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले १–१ मन्त्रालय पाउने सहमति भएको छ भने लोसपाले मुख्यमन्त्रीसहित १ मन्त्रालय लिनेछ। माओवादी केन्द्र र समाजवादी पार्टीले पाउने मन्त्रालय र मन्त्रीको नाम भने अझै टुंगो लाग्न बाँकी छ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। गठबन्धनसँग जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ गरी ५५ सांसदको समर्थन रहेको छ।
लोसपाकी सांसद रमिता प्रधानका अनुसार जनमत पार्टीको पूर्ण समर्थनले यो संख्या ५६ देखि ५८ सम्म पुग्न सक्नेछ। यद्यपि, लोसपाका एक सांसद निलम्बित रहेकाले गठबन्धनको औपचारिक संख्या ५५ मा सीमित रहेको छ।
प्रदेश प्रमुख सुवेदी भण्डारीले बुधबार अपराह्न ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी छिन्।

