
लागुऔषध (ब्राउन सुगर) कारोबारमा संलग्न रही फरार रहेका अमन यादव अखेर पक्राउ परेका छन्। नेपाल सरकार प्रतिवादी रहेको उक्त मुद्दामा यादव लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका थिए।
सिराहा जिल्लाको विष्णुपुर गाउँपालिका–३ बस्ने २१ वर्षीय यादव गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा थानकोट प्रहरी वृत्तको हिरासतबाट फरार भएका थिए।

प्रहरीले विशेष सूचनाका आधारमा बुधबार बिहान सप्तरीको रूपनी गाउँपालिका–६, वीरेन्द्र बजारबाट उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) डम्बरबहादुर पुरीका अनुसार पक्राउ परेका यादवलाई थप अनुसन्धान र कारबाहीका लागि थानकोट प्रहरी वृत्तमा पठाइएको छ।
प्रहरीका अनुसार यादवमाथि लागुऔषध कारोबारसम्बन्धी गम्भीर मुद्दा दर्ता रहेको छ, र उनी हिरासतबाट फरार भएपछि देशभरि नै निगरानीमा रहेका थिए।

