
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका सांसद तथा जसपा नेपालका नेता सरोजकुमार सिंहलाई सांसद विकास कोषको रकम दुरुपयोग गरेको अभियोगमा पुनः पक्राउ गरेको छ ।
सिंहलाई बिहीबार साँझ काठमाडौं–१० रत्नराज्य स्कुलनजिक पक्राउ गरिएको हो । आयोगले विशेष अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी गरी सिंहलाई नियन्त्रणमा लिएको जनाएको छ ।
अख्तियारका अनुसार सिंहले नक्कली उपभोक्ता समिति गठन गरी कोषको रकम ती समितिका खातामा जम्मा गरेर ३७ प्रतिशतसम्म कमिसन आफ्नै र श्रीमतीको खातामा सार्ने काम गरेको प्रमाण फेला परेको छ । उनले आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत रकम हिनामिना गरेको ठहर आयोगले गरेको हो ।

कायस्थलाई आयोगले गत असोज १२ गते नै पक्राउ गरिसकेको छ । आयोगले दुवै जनासहित नक्कली उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ ।
यसअघि गत जेठ २९ गते पनि अख्तियारले सिंहलाई अनामनगरबाट पक्राउ गरी बयान लिएपछि तारेखमा छाडेको थियो ।
महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित सिंह पूर्व आन्तरिक मामिला राज्यमन्त्री समेत हुन् । उनको पुनः पक्राउपछि मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सिंह स्वतः निलम्बनमा परेको जानकारी दिएका छन् ।
सिंहको निलम्बनसँगै मधेस प्रदेशमा निलम्बित सांसदको संख्या तीन पुगेको छ — यसअघि एमालेका दीपेन्द्र ठाकुर र मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विक हत्या अभियोगमा जन्मकैद पाएका अर्का सांसद निलम्बनमा परेका थिए ।
अख्तियारले भनेको छ — “मामलामा थप संलग्न अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान र कारबाही प्रक्रिया जारी रहनेछ।”

