
गएको भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र धम्कीमा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, जेनजी भन्दै कर्मचारीलाई धम्क्याउने अर्जुनबहादुर शाहीलाई केही दिनअघि पक्राउ गरिएको हो । विभिन्न सरकारी कार्यालयका प्रमुखहरूलाई भेटेर ‘जेनजीको नाममा केरकार गर्ने’ कार्य गरेको भन्दै उनको गतिविधिबारे गुनासो आएपछि उनलाई सोधपुछ र अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, शाहीमाथि वैदेशिक रोजगार ठगी र बैंकिङ कसुरमा समेत संलग्न रहेको तथ्य फेला परेको छ ।
यस्तै, भदौ २४ गतेको प्रदर्शनमा सुरक्षाकर्मीको हतियार लुटपाट गरी तोडफोड र आगजनी गर्ने अभियोगमा ललितपुर महानगरपालिका–२६, सुनाकोठीका सम्राट उर्फ राजु परियारलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
परियारले सिंहदरबार मूलद्वारअगाडीसहितका स्थानमा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

