
वीरगंज — बारा र पर्सा जिल्लामा हैजाविरुद्धको खोप अभियानले उल्लेखनीय सफलता हासिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुवै जिल्लाको कुल लक्षित जनसंख्याको ७१ प्रतिशतले खोप लिइसकेका छन्।
स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार बारा र पर्सा जिल्लाको कुल १० लाख १८ हजार ६० जनामध्ये सात लाख २३ हजार ८३६ जनाले खोप लिएका हुन्।

खोप शाखाले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार, पर्सामा अभियान सुरु भएको छैटौं दिनसम्म चार लाख ५६ हजार ७७८ जनाले खोप लगाएका छन्। पर्साको कुल लक्षित जनसंख्या ६ लाख ५२ हजार १२९ रहेको छ।
त्यस्तै बारामा तीन लाख ६५ हजार ९३१ जनामध्ये दुई लाख ६७ हजार ५८ जनाले खोप पाइसकेका छन्।
हैजा फैलिन नदिन र जोखिम घटाउने उद्देश्यले पर्साका सबै पालिकामा असोज २६ गतेदेखि तथा पर्सासँग सीमा जोडिएका बाराका छ वटा पालिकामा असोज २७ गतेदेखि खोप अभियान सञ्चालन भएको हो।
डा. गौतमका अनुसार, खोप अभियान भोलिसम्म जारी रहने छ र बाँकी लक्षित जनसंख्यालाई पनि खोप पुर्याउने प्रयास भइरहेको छ।

