
जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा फरार रहेका चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार कटहरिया–१ का ४२ वर्षीय रामपुकार महतो कोइरीलाई जग्गा किर्ते प्रकरणमा पक्राउ गरिएको हो। उनीमाथि कटहरिया–१ (क) को २४ वटा कित्तामा पर्ने ९ बिगाहा १८ कठ्ठा १५ धुर जग्गा अदालतको फैसला र पत्र किर्ते खडा गरी गैरकानुनी रूपमा आफ्नो नाममा दर्ता गरेको आरोप छ।

त्यस्तै, गौर–८ का ४७ वर्षीय सुरेन्द्र साहलाई ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा पक्राउ गरिएको छ। साहले श्री धन लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरमा एजेन्टको रूपमा कार्य गर्दै गाउँका मानिसहरूलाई विभिन्न प्रलोभन देखाई खाता खोल्न लगाएको र रकम जम्मा गराउँदै आएको तर सहकारी संस्था बन्द गरी फरार भएको आरोप लागेको प्रहरी निरीक्षक रुद्रराज कंडेलले जानकारी दिए।
यस्तै, जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतबाट फरार लागुऔषध मुद्दाका थुनुवा, चन्द्रपुर–६ ठोकर टोलका पनिलाल दासलाई पनि पक्राउ गरिएको छ।
त्यसैगरी, जेन–जी आन्दोलनकै क्रममा कारागार कार्यालय गौरबाट फरार लागुऔषध मुद्दाका कैदीबन्दी, चन्द्रपुर–१ का २८ वर्षीय उमेश राना मगरलाई समेत पक्राउ गरी पुनः कारागारमा बुझाइएको प्रहरीले जनाएको छ।

