
जेल ब्रेकपछि फरार भएका एक कैदी सुर्खेतमा लागुऔषधसहित पक्राउ परेका छन्।
गत भदौ २४ गते काठमाडौंस्थित जगन्नाथदेवल कारागारबाट जेनजी आन्दोलनका क्रममा फरार भएका ३० वर्षीय नरेन्द्र ठाडा शनिबार वीरेन्द्रनगर नगरपालिका–७ बाट पक्राउ परेका हुन्।
लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखाको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनको साथबाट ५३० मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी महोनजंग बुढाथोकीले जानकारी दिनुभयो।
सुर्खेत प्रहरीले ठाडासँगै लागुऔषध कारोबारमा संलग्न वीरेन्द्रनगर–८ की १९ वर्षीया ललिता तामाङलाई पनि पक्राउ गरेको छ।
यसैगरी शनिबार राति सुब्बाकुना चेकपोस्टबाट थप तीन युवालाई २ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको सुर्खेत प्रहरीले जनाएको छ।

