
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित दश वामपन्थी दलबीच एकता घोषणा गरिएको छ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी)लगायतका वाम दलहरूले एकता घोषणा गरेका हुन्।
एकता घोषणासँगै नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ भने यसको चुनाव चिह्न ‘पाँचकुने तारा’ सार्वजनिक गरिएको छ।
घोषणासभामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, र नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुनलगायत शीर्ष नेताहरू सहभागी थिए।

एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने जनाइएको छ।
एकता संयोजन समितिका सदस्य तथा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमालले सुशासन, सामाजिक न्याय र आर्थिक रुपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्न वाम शक्तिहरूबीच एकता अपरिहार्य भएको बताए।
उनका अनुसार पुँजीवादी जनवादी क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन र सामाजिक आर्थिक रुपान्तरण गर्दै समाजवादको आधार तयार गर्नु पार्टीको तत्कालीन कार्यनीति रहनेछ।
सहमति अनुसार, छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र साविक दलका केन्द्रीय समितिलाई समायोजन गर्दै नयाँ केन्द्रीय समिति गठन गरिनेछ। पार्टी संरचना संयोजक र सहसंयोजक प्रणालीमा आधारित सामूहिक नेतृत्वमा सञ्चालन हुने बताइएको छ।
प्रदेशदेखि वडा तहसम्मका सबै संगठनहरू जनवादी केन्द्रीयता सिद्धान्तअनुसार सञ्चालन हुने र एकता राष्ट्रिय सम्मेलन तथा महाधिवेशनका तयारी कार्यहरू आपसी सहमति र समझदारीमा अघि बढाइने नौ दलबीच सहमति भएको छ।

