
पर्सा — सशस्त्र प्रहरीले नेपाल–भारत सीमाक्षेत्रबाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता विश्वराज योन्जनका अनुसार बुधबार अपराह्न सीमा स्तम्भ नम्बर ३९०/२२ नजिकै गस्तीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–५ का १८ वर्षीय सुमित कुमार मण्डल र जितपुरसिमरा उपमहानगरपालिका–८ का २८ वर्षीय सञ्जय कुमार साह कलवार रहेका छन्।
प्रवक्ता योन्जनका अनुसार उनीहरू झाडीमा लुकीछिपी बसिरहेका अवस्थामा भेटिएका थिए। उनीहरूको साथमा रहेको बोराबाट कटुवा पेस्तोल बरामद भएको हो।
सशस्त्र प्रहरीले पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाएको जनाएको छ।
प्रहरीले यसबारे थप अनुसन्धान जारी रहेको बताएको छ।

