
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको आज बिहान काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचारका क्रममा निधन भएको छ। केही समयदेखि गम्भीर स्वास्थ्य समस्याबाट पीडित ६३ वर्षीय आलमलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि केही दिनअघि उनलाई थप उपचारका लागि भारतको दिल्लीस्थित एम्स अस्पताल लगिएको थियो। तर, चिकित्सकहरूले अवस्था अत्यन्त कमजोर रहेको भन्दै घरमै सेवा–सुसारमा राख्न सुझाव दिएपछि उनी पुनः नेपाल फर्काइएका थिए। फर्किएपछि केएमसीमा उपचार भइरहेकै क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
रौतहटमा मुस्लिम समुदायका प्रभावशाली राजनीतिक व्यक्तित्वका रूपमा परिचित आलमले २०५६ र २०६४ सालको प्रतिनिधिसभा चुनावमा नेपाली काँग्रेसबाट विजय हासिल गरेका थिए। उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका निकट र विश्वासपात्र नेता मानिन्थे। श्रम तथा रोजगारमन्त्रीका रूपमा कार्य गरेका आलम काँग्रेसभित्र मधेसी–मुस्लिम समुदायको सशक्त आवाजका रूपमा परिचित थिए।

२०७६ सालमा २०६४ सालको संविधानसभा चुनावअघि रौतहटको राजपुरमा भएको बम विस्फोट घटनामा संलग्नताको आरोपमा आलम पक्राउ परेका थिए। विस्फोटमा घाइते भएकाहरूलाई उपचार नगरी ईँटाभट्टामा जलाएको आरोपमा मुद्दा दर्ता भएपछि उनी करिब ६ वर्ष जेल जीवनमा रहे। आलम र उनका परिवारले सो मुद्दालाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै आएका थिए।
गत जेठमा उच्च अदालतले आदेश जारी गर्दै उनीसहित केही सहआरोपीलाई रिहा गरेको थियो। सो मुद्दाको अन्तिम टुंगो भने अझै लागेको छैन।
नक्खु कारागारमा रहँदा नै आलमको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। ब्रेन स्ट्रोक, दुबै मृगौला क्षतिग्रस्त हुनु र आन्द्रामा संक्रमणजस्ता समस्या देखिएपछि उनलाई अन्नपूर्ण न्यूरो, वीर अस्पताल र केएमसीमा पटक–पटक उपचार गरिएको थियो।
उनको पार्थिव शरीर काठमाडौँबाट रौतहटस्थित गृहजिल्ला लैजाने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ।
नेपाली काँग्रेस, स्थानीय राजनीतिक नेतृत्व, समर्थक तथा मुस्लिम समुदायले आलमको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
स्व. आलमको राजनीतिक यात्रा, संगठन निर्माणमा भूमिका र विवादित मुद्दा—यी सबैले उनलाई नेपालको समकालीन राजनीतिमा एक प्रभावशाली र बहसयोग्य पात्रका रूपमा स्थापित गरेका छन्।

