
भारतको राजधानी दिल्लीमा लालकिल्ला नजिक सोमवार बेलुकी भएको कार विस्फोटलाई सरकारले आतङ्कवादी घटना भनेको छ। यस विस्फोटमा आठ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्।
बीबीसीका अनुसार बुधबार सम्पन्न सुरक्षा बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको कडा निन्दा गर्दै यसलाई देश विरोधी शक्तिद्वारा गरिएको कायरतापूर्ण कार्य भनेका छन्।

अधिकारिहरूले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। विस्फोटको सम्बन्धमा अहिलेसम्म कसैको नाम लिइएको छैन र कुनै पनि व्यक्ति पक्राउ परेका छैनन्।
बुधबार मन्त्रिपरिषद्ले पारित गरेको सङ्कल्प प्रस्तावमा यस घटनालाई “देशविरोधी शक्तिद्वारा रचिएको जघन्य आतङ्कवादी घटना” भनेको छ। निर्दोष नागरिकको ज्यान जाने गरी भएको घटना घृणित र कायरपूर्ण भएको भन्दै भारत सरकारले निन्दा गरेको छ। विज्ञप्तिमा भारत आतङ्कवादप्रति शून्य सहनशीलतामा दृढ प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ।
विस्फोट मेट्रो स्टेशन नजिक, लालकिल्ला अगाडि रातो बत्तीमा रोकिएको कारमा भएको थियो।
यसैबीच अमेरिकाले दिल्ली विस्फोट अनुसन्धानमा भारतलाई सहयोग गर्ने घोषणा गरेको छ। क्यानडामा चलिरहेको जी–सेभेन राष्ट्रहरूको बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय समकक्षी एस जयशङ्करलाई अनुसन्धानमा सहयोग प्रस्ताव गरेका हुन्।

