
लामो समयदेखि विद्युत महसुल तिर्न अस्वीकार गर्दै आएका केही उद्योगहरूले पहिलो किस्ता बुझाएका छन्। नेपाल विद्युत प्राधिकरणका अनुसार लाइन काटिएका २५ मध्ये हालसम्म २१ उद्योगले विद्युत महसुलको पहिलो किस्ता बुझाएका छन्।
यी उद्योगहरूको कुल बक्यौता चार अर्ब ९४ करोड ३० लाख रुपैयाँ रहेकोमा पहिलो किस्ताबापत १७ करोड ४६ लाख रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ।

सबैभन्दा धेरै भुक्तानी गर्नेमा जगदम्बा स्टिल कम्पनी अग्रस्थानमा रहँदै हिजो मात्रै पाँच करोड ७२ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको छ। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट लगायत उद्योगहरूले पनि पहिलो किस्ता तिरेका छन्।
विद्युत महसुल भुक्तानीका लागि प्राधिकरणले उद्योगीहरूलाई किस्ताबन्दी सुविधा उपलब्ध गराएको थियो। सोही अनुसार उद्योगहरूले बाँकी रकम किस्ताबन्दीमै तिर्ने सहमति जनाएका छन्।
प्राधिकरणका अनुसार विद्युत महसुल असुलीलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले उद्योग क्षेत्रसँग निरन्तर समन्वय भइरहेको छ। बक्यौता असुलीमा सकारात्मक प्रगति देखिएको भन्दै बाँकी उद्योगहरूलाई पनि तत्काल भुक्तानी प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।
नेपाल विद्युत प्राधिकरणले बक्यौता असुली अभियानलाई तीव्र बनाउँदै आउँदो महिना दोस्रो किस्ता तिर्न उद्योगहरूलाई समयसीमा तोकेको जनाएको छ।

