
प्रतिनिधि सभा निर्वाचन (फागुन २१) को तयारीस्वरूप पर्सा जिल्लामा १५ हजार ४५ जना नयाँ मतदाता थपिएका छन्। मतदाता नामावली अद्यावधिक कार्यक्रम असोज १० देखि मंसिर ५ गतेसम्म सञ्चालन गरिएको थियो ।

जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारका अनुसार नयाँ दर्ता भएकामध्ये पुरुष ८ हजार २४२ र महिला ६ हजार ८०३ जना रहेका छन् ।
थपिएका मतदातामध्ये १४ हजार ३१८ जना स्वयं कार्यालयमा उपस्थित भएर दर्ता गरिएकाहरू हुन् भने ७२७ जना जिल्लाबाहिरका कार्यालयमार्फत दर्ता भएका हुन्।
अद्यावधिकपछि पर्सा जिल्लामा कूल मतदाताको संख्या ३ लाख ५२ हजार ४८४ पुगेको छ। तीमध्ये १ लाख ९८ हजार ८०८ पुरुष, १ लाख ५३ हजार ६६१ महिला र १५ जना फरक लिंगका मतदाता रहेको कार्यालयले जनाएको छ ।

