
रौतहटको फतुवा–विजयपुर नगरपालिका–६ रामदासी टोलमा माइकको तार जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मंगलबार राति करेन्ट लागेर गम्भीर घाइते भएकामा २२ वर्षीय गणेश महतोको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार राति करिब पौने १० बजेतिर आफ्नै घरमा माइकको तार जोड्ने क्रममा गणेश महतो अचानक विद्युत् प्रवाहमा परेर गम्भीर घाइते भएका थिए।
प्रारम्भिक उपचार नेशनल हस्पिटल विजयपुरमा गरिएपछि उनलाई थप उपचारका लागि कोल्हवी बारातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए। अस्पतालले राति ११:५५ बजे महतोको मृत्युबारे प्रहरीलाई सूचित गरेको थियो।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

