
रौतहटको फतुवा–बिजयपुर नगरपालिकामा करार सेवाका कर्मचारीहरू म्याद नवीकरणको मागसहित १६ दिनदेखि धर्नामा छन्। करार अवधि नथपिँदा सेवाप्रवाह प्रभावित भएको भन्दै उनीहरू आन्दोलनमा रहेका हुन्।
धर्नास्थलमा आज आम जनता पार्टीका नगर अध्यक्ष तथा मेयर प्रत्यासी विजय यादव ‘निर्विज’ उपस्थित भई आन्दोलनमा ऐक्यबद्धता जनाए। उनले नगरपालिकाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै कमिसन प्रथाले जनगुनासो बढेको आरोप लगाए।

निर्विजले करार कर्मचारीको माग तुरुन्त सम्बोधन गर्न नगर प्रशासनलाई आग्रह गर्दै भने, राजनीतिक स्वार्थ र आन्तरिक शक्तिकेन्द्रको प्रभावले कार्यालय सञ्चालनमा समस्या आएको छ। उनले निकट भविष्यमै पत्रकार सम्मेलन गरी नगरपालिका भित्रका बेथिति, कमिसन प्रथा र सेवा अवरुद्धबारे जानकारी सार्वजनिक गर्ने पनि घोषणा गरे।
यता, धर्नामा रहेका करार कर्मचारीहरूले माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। लगातार बन्दाबन्दीका कारण जन्म–मृत्यु दर्ता, नागरिकता प्रमाणीकरण, सामाजिक सुरक्षा भत्ता प्रक्रिया, नक्सा स्वीकृति र व्यवसाय दर्तासहितका दैनिक काम प्रभावित भएका छन्।
स्थानीयवासीहरूले आन्दोलनरत कर्मचारी र नगर नेतृत्व दुवैलाई छिटो सहमतिमा पुगेर कार्यालय सञ्चालन सुचारु गर्न आग्रह गरेका छन्।

