
बाराको प्रसौनी गाउँपालिका–६ मा किरण वेभरेज प्रालिका प्रबन्धक रामकिशोर सिंहको हत्या प्रकरणमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति धारिलो हतियार प्रहार गरी हत्या गरिएका सिंहको घटनापछि भागेका अभियुक्तलाई प्रहरीले १८ घण्टाभित्रै विशेष खोजीमार्फत समातेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता खेमप्रसाद नेपालका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई प्रारम्भिक अनुसन्धानका लागि बारामै राखिएको छ । “कानुनी प्रक्रिया पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिनेछ,” उनले भने ।
सर्लाही धनकौल–२ का ४२ वर्षीय रामकिशोर सिंह बिहीबार राति करिब ५० मिटर उत्तरतिर घाँटी रेटिएको अवस्थामा भेटिएका थिए । शुक्रबार बिहान स्थानीयहरूले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
घटनास्थलको मुचुल्का उठाई खोजतलास जारी राखेको प्रहरीले विशेष सूचनाको आधारमा घटनामा सिधै संलग्न दुई जनालाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ । हत्याको कारण र सम्भावित अन्य संलग्नता विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ ।

