
अनैतिक यौनजन्य क्रियाकलाप रोक्न माग गर्दै जनकपुरमा स्थानीयले सडक प्रदर्शन गरेका छन्। जनकपुरको पिँडाडीचोक वरपरका केही होटल र गेस्टहाउसमा लामो समयदेखि देह व्यापार चल्दै आएको आरोप लगाउँदै स्थानीय बासिन्दा विरोधमा उत्रिएका हुन् ।
प्रदर्शनकारीले यस्ता गतिविधिले समाजमा नकारात्मक असर पारिरहेको, युवा तथा विद्यार्थी प्रभावित भइरहेको र बस्ती बदनाम बन्दै गएको भन्दै तत्काल कारबाही गर्न प्रशासनलाई आग्रह गरे ।

जनक नगर सोसाइटी पिराडीको अगुवाइमा शुरू गरिएको जनचेतना अभियानअन्तर्गत स्थानीयले देह व्यापार रोक्न पहल गर्न र संलग्न व्यक्तिमा कडा कानुनी कारबाही गर्न माग राखे ।
साथै, कमिसनका नाममा अनैतिक क्रियाकलापलाई संरक्षण दिएको भन्दै उनीहरूले धनुषा प्रहरीले समेत गम्भीरता नदेखाएको आरोप लगाए ।
प्रदर्शनकारीले यौनजन्य क्रियाकलाप गराउने होटल तथा गेस्टहाउस सञ्चालकलाई चेतावनी दिँदै यस्ता गतिविधि तत्काल बन्द नगरे थप कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

