
वीरगन्ज, २५ माघ :
वीरगन्ज महानगरपालिका वडा नम्बर–२ का पूर्व वडाध्यक्ष शेख अब्बासले जसपा नेपाल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हालको जसपा नेपाल) बाट वडाध्यक्षमा निर्वाचित अब्बासले आइतबार एमाले प्रवेश गरेका हुन्।
वीरगन्ज–२ छपकैया क्षेत्रमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले अब्बाससहितका नवप्रवेशीलाई अबीर–टीका लगाएर पार्टीमा स्वागत गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले आफू जनताको हरेक दुःख–सुखमा सधैँ साथमा रहेको दाबी गरे। उनले भने,
“अहिले चुनाव नजिकिँदै जाँदा भोट माग्न रुप फेरेर धेरै नेताहरू जनताको घर–घर आइरहेका छन्। तर खानेपानीको संकट हुँदा उनीहरू कहाँ थिए? हैजाको महामारी फैलिँदा उनीहरू कहाँ थिए? त्यसबेला जनताको बीचमा आउने प्रदीप यादव नै थियो।”
यादवले देश जलाउने कि देश जोगाउनेलाई भोट दिने भन्ने प्रश्न अहिले जनताकै हातमा रहेको उल्लेख गर्दै देश बनाउने शक्तिलाई नै जनताले प्रतिनिधि बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निर्मला देवकोटा, जिल्ला सचिव महेश दास, क्षेत्रीय संयोजक मानदेव हजरा, नेता सुन्दर कुर्मी लगायतको उपस्थिति रहेको थियो।

