
वीरगन्ज, २५ माघ :
पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर–२६, सुगौली निवासी रामजी प्रसाद कुर्मीले नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
एमाले वीरगन्ज महानगर कमिटीको कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा कुर्मीलाई नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजय सरावगी र मधेस प्रदेश कमिटीका उपाध्यक्ष एवं वीरगन्ज महानगर इन्चार्ज विचारी यादवले अबीर–टीका लगाएर पार्टीमा स्वागत गरे।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै कुर्मीले परिवर्तनको चाहनाका कारण आफू एमालेमा प्रवेश गरेको स्पष्ट पारे। उनले नेपाली कांग्रेसले एउटै नेतालाई पटक–पटक उम्मेदवार बनाउने तर ती नेता सांसद वा मन्त्री बनेपछि पनि जिल्ला तथा क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिन नसकेको आरोप लगाए। यही कारणले कांग्रेस परित्याग गरी परिवर्तनको विकल्पका रूपमा एमाले रोजेको उनले बताए।
कुर्मीले आगामी प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले) की युवा तथा महिला उम्मेदवार रिमा कुमार यादवलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा एमाले वीरगन्ज महानगर कमिटीका कार्यवाहक अध्यक्ष इलयाकत अली, लेखा समिति संयोजक अजय साह, नेता मुकेश द्विवेदी लगायतको उपस्थिति रहेको थियो।

