
वीरगञ्ज । धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत अवस्थामा फेला परेकी छन्। माइती पक्षले भने छोरीको हत्या भएको आरोप लगाएको छ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ निवासी मुकेश धनखोटी यादवकी २५ वर्षीया श्रीमती विभाकुमारी महतो मङ्गलवार दिउँसो घरमै झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। मुकेश र विभाले करिब पाँच वर्षअघि भागी विवाह गरेका थिए।

मृतकका दाजु मनिषकुमार महतोका अनुसार विवाहपछि लामो समयसम्म सन्तान नभएको विषयलाई लिएर विभामाथि शारीरिक तथा मानसिक यातना दिने गरिएको थियो। घटनापछि विभाको शरीरमा नीलडाम देखिएको भन्दै माइती पक्षले हत्या गरिएको दाबी गरेको छ।
यस घटनामा विभाका दाजु मनिषले उनका पति मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीसमक्ष जाहेरी दिएका छन्।
जाहेरीका आधारमा प्रहरीले मुकेशलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेश बमले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

