

वीरगञ्ज । नेपाली काँग्रेसका सभापति गगन थापाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हारको नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिएका छन्।
उनले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएका हुन्। यद्यपि, पार्टीले यस विषयलाई अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक गरेको छैन।
पार्टीका एक पदाधिकारीका अनुसार राजीनामा स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय केन्द्रीय कार्यसमितिको अधिकार क्षेत्रभित्र पर्छ। चैत ६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा थापाको राजीनामामाथि विस्तृत छलफल हुने बताइएको छ।
‘अबकि बार, सय पार’ भन्ने महत्त्वाकाङ्क्षी नारासहित चुनावी मैदानमा उत्रिएको कांग्रेस यस पटक प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट गरी कुल ३८ सिटमा सीमित भएको छ।
स्वयं सभापति थापा सर्लाही–४ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग फराकिलो मतान्तरले पराजित भएका थिए। यसले पार्टीभित्र र बाहिर उनको नेतृत्वमाथि प्रश्न उठाएको थियो।
थापाले केही समयअघि सम्पन्न विशेष महाधिवेशनमार्फत देउवा समूहको असहमति र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबीच नेतृत्व सम्हालेका थिए। उक्त महाधिवेशनले पार्टीमा रूपान्तरणको आशा जगाए पनि निर्वाचन परिणामले त्यसलाई जनस्तरसम्म पुर्याउन नसकेको विश्लेषण भइरहेको छ।
निर्वाचन लगत्तै बस्ने केन्द्रीय कार्यसमिति बैठकमा चुनावी परिणामको गम्भीर समीक्षा हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। बैठकमा उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन परिचालन समितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।
यसैगरी, आगामी जेठ महिनाभित्र १५औँ नियमित महाधिवेशन सम्पन्न गर्ने विषयमा पनि छलफल हुने बुझिएको छ।
थापाको राजीनामाले कांग्रेसभित्र नयाँ नेतृत्व चयन र पार्टी पुनर्गठनको बहसलाई तीव्र बनाउने देखिन्छ। पार्टीका विभिन्न तहबाट राजीनामा स्वीकृत नगर्न आग्रह आइरहेका बेला केन्द्रीय कार्यसमितिको निर्णयले महत्त्वपूर्ण मोड लिने अपेक्षा गरिएको छ।

