

वीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले हरि खेतान माध्यमिक विद्यालय र हरि खेतान बहुमुखी क्याम्पसलाई एउटै भवनमा सञ्चालन गर्न नपाइने स्पष्ट आदेश जारी गरेको छ।
अदालतले फागुन १५ गते सार्वजनिक गरेको पूर्णपाठमा दुवै संस्थालाई फरक–फरक भवनमा सञ्चालन गर्न निर्देशन दिएको हो। संयुक्त इजलासको यो निर्णयले वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पस र माध्यमिक विद्यालयबीच लामो समयदेखि चलेको व्यवस्थापन र कानुनी विवादलाई औपचारिक रूपमा सम्बोधन गरेको छ।
निर्णयअनुसार अब विद्यालय र क्याम्पस अलग–अलग कानुनी संरचनामा सञ्चालन गर्नुपर्छ। नेपालको शिक्षा ऐन, २०२८ र त्रिभुवन विश्वविद्यालयको “सम्बन्धन सम्बन्धी विनियम, २०७३” ले पनि एउटै भवनमा विद्यालय र क्याम्पस सञ्चालन गर्न नमिल्ने स्पष्ट व्यवस्था गरेको छ।
स्थानीय स्रोतका अनुसार, क्याम्पस प्रमुखले विद्यालय प्रशासनमा हस्तक्षेप गरेको आरोप लाग्दै आएको थियो। सञ्चालक समितिले पटक–पटक शिक्षा ऐन अनुसार सञ्चालन गर्न आग्रह गरे पनि बेवास्ता भएको थियो। अदालतको आदेशले अब संस्थागत पारदर्शिता, उत्तरदायित्व र कानुनी अनुशासन कायम गर्ने अपेक्षा गरिएको छ।
सम्बन्धित निकायहरूले अदालतको आदेश पूर्ण रूपमा कार्यान्वयन गरी शैक्षिक गुणस्तर र कानुनी मापदण्ड सुनिश्चित गर्नुपर्ने देखिन्छ।

