
वीरगञ्ज । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले भुटानी शरणार्थी काण्ड र गौर हत्याकाण्डलाई उच्च प्राथमिकतामा राख्दै कानुनी कारबाही अघि बढाउने तयारी थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक माथिको कारबाहीपछि सरकार थप आक्रामक ढंगले अघि बढ्ने संकेत देखिएको हो ।
स्रोतका अनुसार गृहमन्त्री गुरुङको ध्यान अहिले एमाले उपाध्यक्ष रामबहादुर थापा र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव तर्फ केन्द्रित छ । भुटानी शरणार्थी प्रकरणमा थापामाथि अनुसन्धानको तयारी भइरहेको छ भने गौरमा १८ वर्षअघि भएको हिंसात्मक घटनामा यादवमाथि कारबाही प्रक्रिया अघि बढाउने गृह मन्त्रालयको तयारी रहेको बताइएको छ ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा सरकारले पहिले नै ओली र लेखकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको छ । त्यसले सरकारलाई थप कडा कदम चाल्न बल पुगेको विश्लेषण गरिएको छ ।
उच्च स्रोतका अनुसार गृहमन्त्री गुरुङले बिदाको दिनमै मन्त्रालयमा फाइलहरू मगाएर अध्ययन गरेका छन् । दुवै घटनालाई प्राथमिकतामा राख्दै कारबाही प्रक्रिया तीव्र बनाउने तयारी भइरहेको बताइन्छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार भुटानी शरणार्थी काण्ड र गौर घटनामा हुने सम्भावित कारबाहीले आगामी दिनमा राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्न सक्ने देखिएको छ ।

